अस्ट्रेलिया फर्के ५ वर्ष जेल

स्वास्थ्यमन्त्री ग्रेग हन्टले मंगलबारदेखि लागू हुने नयाँ नियम अस्ट्रेलियाली र अन्य देशका नागरिकका लागि समान हुने बताएका छन् । अस्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिक स्वदेश फर्किएमा ५ वर्ष जेल सजाय र ६६ हजार अस्ट्रेलियन डलरसम्म जरिवाना गर्ने भएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका कारण कम्तीमा १४ दिन भारतमा बसेको कुनै पनि व्यक्ति अस्ट्रेलिया आए उक्त सजाय गरिने अस्ट्रेलियाली स्वास्थ्यमन्त्री ग्रेग हन्टले बताएका छन्

यही मंगलबारदेखि सुरु हुने यो नयाँ नियम कोरोनाकै कारण लागू गरिएको विश्वकै कडा नियम भएको सञ्चारमाध्यमले जनाएका छन् । आजसम्म कुनै पनि रास्ट्रले आफ्ना नागरिक स्वदेश फर्किएमा जेल सजाय हुने वा जरिवाना हुने नियम लागू गरेका छैनन् । तर हन्टले उक्त नियम अस्थायी भएको र अस्ट्रेलियाली नागरिक वा अन्य देशका नागरिकलाई समान भएको बताए ।

सरकारले जैविक विविधतासम्बन्धी कानुनअन्तर्गत उक्त नियम परिमार्जन गरेको हो । अस्ट्रेलियाले केही दिनअघि नै भारतबाट आउने सबै यात्रुवाहक विमानलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ । नयाँ नियम भारतमा बसेका र सिंगापुर वा दुबई हुँदै आउने अस्ट्रेलिया नागरिकलाई समेत लागू हुने जनाएको छ ।

हाल भारतमा करिब ९ हजार अस्ट्रेलियाली नागरिक छन् । तीमध्ये ६ सय जना भाइरसको उच्च जोखिममा रहेका जनाइएको छ । स्वास्थ्यमन्त्री हन्टले आफूहरूको मुख्य उद्देश्य अस्ट्रेलियाली नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बचाउनुरहेको बताएका छन् । पछिल्लो समय भारतबाट अस्ट्रेलिया आएका नागरिकमा कोरोनाको संक्रमण उच्च देखिएको छ । स्वास्थ्यमन्त्री हन्टले संक्रमण बढिरहेको देशबाट आउने नागरिकको संख्या बढेको कारण यो नियम लगाउनुपरेको बताएका छन्

उनका अनुसार भारतमा कम्तीमा १४ दिन बिताएका कसैले पनि सेल्फ क्वारेन्टाइनमा बस्ने गरी आउन चाहे पनि आउन पाउने छैनन् । सरकारले बिहीबार सबै राज्य तथा टेरिटोरीका प्रमुख सम्मिलित बैठकपछि भारतको अवस्था र देशभित्र खोप वितरणलाई मध्यनजर गरेर उक्त निर्णय लिइएको जनाएको छ ।

अस्ट्रेलियाले दुई सातापछि भने आपत्कालीन अवस्थामा रहेका आफ्ना नागरिकलाई प्राथमिकताका आधारमा उद्धार गर्ने जनाएको छ । मे १५ सम्म भारतबाट आउने यात्रुवाहक जहाजलाई अस्ट्रेलियाले प्रतिबन्ध लगाइसकेको छ । अस्ट्रेलियाको विपक्षी दल लेबरले आफ्नो देश फर्कन चाहने नागरिकलाई क्वारेन्टाइनको व्यवस्था गर्ने जिम्मेवारी केन्द्र सरकारको भएको बताएको छ । लेबरले भारतबाट देश फर्कन चाहेका ९ हजार नागरिकलाई अन्य देशमा अलपत्र पार्न नहुने बताएको छ । उसले उपयुक्त र समय सुहाउँदो क्वारेन्टाइन सुविधा उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ । kantipurdaliy

Leave a Reply

Your email address will not be published. Required fields are marked *