बादलको ठाउँमा निर्वाचन गर्न १ करोड ६१ लाख खर्च लाग्ने

काठमाडौं– जेठ ६ गते हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले १ करोड ६१ लाख ३० हजार रुपैयाँ बराबरको बजेट अनुमान गरेको छ। आयोगले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै अनुमानिक बजेट सार्वजनिक गरेको हो।

निर्वाचन आयोगले २०७८ जेठ ६ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७८ तयार गरेको छ। उक्त कार्यविधि अनुसार निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि जम्मा रू १ करोड ६१ लाख ३० हजार बजेट अनुमान गरिएको छ’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २७ र २८ अनुसार उक्त कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा लेखी पठाउन आयोगबाट निर्णय भएको हुँदा सो अनुसार नेपाल सरकार अर्थ मन्त्रालयमा पत्राचार समेत भएको आयोगले जनाएको छ।

माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभाका सदस्य रामबहादुर थापा बादल एमाले प्रवेश गरेपछि उनको पद गुमेको थियो। बागमती प्रदेशबाट अन्य समूह अन्तर्गत निर्वाचित उनको स्थानमा जेठ ६ गते निर्वाचन हुन लागेको हो। पद रिक्त भएको ३५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ।nepallive.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *