हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली अहिले भारतको त्वंशरणम् भए : देउवा

कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगाएका छन् ।

सोमबार नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै देउवाले भारत विरोधी नाराबाट उदाएका ओली अहिले भारतसामू त्वंशरणम् भएको बताए।सोही कारण प्रधानमन्त्री ओलीसँग कुनै राष्ट्रवाद नरहेको पनि स्पष्ट पारे। कम्युनिष्टहरु अवसरवादी भएकोले अहिले नै कांग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको उनले बताए। आशा नभएपनि सम्भावना भएकोले आफूले सरकार परिवर्तन गर्ने विषयमा छलफल गरिराखेको उनले बताए।

उनले भने, ‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाकोको त्वंशरणम् भए। भारत विरोधी नाराबाट झुल्केका ओली अहिले भारतको टाङमुनि छिरिनै सके। कहाँ छ उनको राष्ट्रवाद। त्यसकारण यिनीहरु राष्ट्रवादी पनि होइन, केही होइन। यिनीहरु खाली एउटा अवसरवादी हुन्। त्यसकारण हेर्दै जाऔं परिस्थिति के हुन्छ। मैले धेरै आशा पनि राखेको छैन र सम्भावना पनि उत्तिकै छ। राजनीति भनेको सम्भावनाको खेल पनि भन्छन्। आर्ट अफ पोसिबिलिटी पनि भन्छन त्यसकारण हामीहरु लागिरहेका छौं।’

आफूले प्रधानमन्त्री ओलीलाई हटाउन नचाहेको भन्ने कुरा सत्य नभएको पनि सभापति देउवाले बताए। ओली सरकारले हरेक ठाउँमा हतकडी लगाएर राजनीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको पनि बताए। त्यसैले ओलीलाई हटाउने कुरामा सल्लाह भइराखेको र अहिले नै भन्न सक्ने स्थिति नरहेको बताए।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने पनि सभापति देउवाले बताए। ‘नेपालमा धेरै ठूलो चुनौती आएको छ। प्रजातन्त्रमाथि खतरा आएको छ। एकातिर ओलीको सरकारले सम्पूर्ण राजनीति हरठाउँमा हतकडी लगाएर कन्ट्रोल गर्न खोजिरहेको छ। अर्कोतिर पाण्डामिकको पनि हाहाकार छ। त्यसैले ओलीलाई हटाउन चाहि हाटाइहाल्छु नि किन चाहँदैन मैले। कुरा के हो भने स्योरसट हुनुपर्‍यो। त्यो सम्बन्धमा सल्लाह पनि हुँदैछ,’ उनले भने, ‘अहिले मैले केही भन्न सक्ने अवस्था छैन। झुट बोलेर काम पनि छैन। मैले तपाईंहरुलाई भनिसके प्रचण्डको पार्टीले फिर्ता लिएकै छैन। बहुमतको सरकार छ त्यहाँ। अहिले सम्म बहुमतको सरकार भन्नु पर्‍यो नी फिर्ता निलए सम्म त। माओवादी र एमाले मिलेर बहुमत छ। के गर्ने अब। प्रचण्डले फिर्ता लिएका छैनन्।’kantipurdaily

Leave a Reply

Your email address will not be published. Required fields are marked *