ओलीसँगै सत्ता सहकार्य गरेर अगाडि बढ्न हामी तयार छौ – राजेन्द्र महतो

काठमाडौं, २९ चैत । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महताले प्रधानमन्त्री केपी ओलीसँगै सत्ता सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतोले ओली सरकारमा जान सकिने बताएका छन् । उनले जसपाका माग कार्यान्वयनको चरणमा गएको भन्दै ओली सरकारमा सहभागी हुन सक्ने उल्लेख गरे ।

‘सरकारमा जान पनि सकिन्छ । बाहिर बसेर समर्थन गर्न पनि सकिन्छ । यो सम्भावना धेरै छ’, जसपाका नेता महतोले भने, ‘केपी ओली नेतृत्वको सरकारसँग वार्ता चलिरहेको छ।’ ‘माग सम्बोधन भयो भने सरकारमा सहभागी हुन्छौँ’, नेता महतोले भनेका छन् ।

‘केपी ओलीलाई हेरौँ । यो सरकारले काम गर्‍यो भने यही गठबन्धन रहन सक्छ’, उनले भने, ‘सरकारमा जानेबारे जसपाले निर्णय गर्न सक्छ ।’ओलीलाई बिस्थापित गरेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा महतोले धेरै रुचि देखाएनन् । उनले सरकारमै रहेको दलसँग माग पूरा गराउन सजिलो हुनेभन्दै कांग्रेससँग पछिको कुरा हुने बताए ।

नेता महतोले सरकार बनाउने विषयमा कांग्रेसको प्रस्ताव मात्रै आएको भन्दै देउवासँग वार्ता गर्नुभन्दा अगाडि जसपाका शीर्ष नेताहरूको बैठक बसेर एउटा साझा धारणा बनाएर बुढानिलकण्ड पुगेको बताए ।

महतोले ओली सरकारले आफूहरूका माग पूरा गर्न धेरै हदसम्म अगाडि बढिसकेको बताए। उनले कांग्रेससँग सरकार बनाउनेबारेमा खासै ध्यान दिएनन् । नेता महतोको यो घोषणाले कांग्रेस र माओवादी केन्द्रलाई तनाब बढाइदिएको छ ।

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जसपाका जायज मागहरू पूरा हुने बताए । उनले रेशमलाल चौधरीको मुद्धा अदालतमा विचाराधीन रहेकाले त्यसबारेमा कसरी अगाडि बढ्ने भन्नेबारेमा जसपालाई स्वयं जानकारी रहेको बताए

संविधान संशोधनका विषयमा पनि सरकार सकारात्मक रहेको भन्दै डा.भट्टराईले छलफल गरेर जान सकिने बताएका छन् । सल्लाहकार डा.भट्टराईले ओलीले अहिले राजीनामा नदिने बताए । उनले भने, ‘कसैले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनु हुन्न । प्रक्रियाअनुसार राजीनामा माग्न दलहरूलाई सुझाव छ ।’pathibhara news

Leave a Reply

Your email address will not be published. Required fields are marked *