काठमाडौंका विभिन्‍न क्षेत्रमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौंका विभिन्‍न क्षेत्रमा मेलम्चीको पानी वितरण सुरु

मेलम्चीको खानेपानी उपत्यकाका विभिन्न क्षेत्रमा वितरण गर्न थालिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको खानेपानी विभिन्न ठाउँका ट्यांकीहरु भर्दै पानी वितरण गर्ने काम आइतबारदेखि सुरु गरेको हो ।

केयूकेएलले आइतबार दुई बजेदेखि काठमाडौंका विभिन्न क्षेत्रमा पानी वितरण सुरु गरिएको जानकारी दिएको छ। केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले चाबहिलको महाँकाल चौरको ट्यांकीबाट दुई बजेदेखि पानी वितरण सुरु गरेको बताए।

‘मेलम्चीको खानेपानी वितरण गरिरहेका छौं। चाबहिलको महाँकाल चौरको ट्यांकीबाट हाम्रो २ बजेदेखि सुरु भयो,’ उनले भने, ‘अनामनगरको ट्यांकीबाट पनि २ बजेदेखि सुरु गर्‍यौं। अहिले मेलम्चीको कुटुबहाल, कालोपुल, विशालनगर, देवकोटा चोक, बत्तिसपुतली, बागेश्वरी क्षेत्रमा पानी आइरहेको छ।’ यो पानीलाई बन्द गरेर फेरि अर्काेतिर पठाइदिने उनले बताए। हाल मीनभवनको पानीट्यांकीभरिँदै गरेको उनको भनाइ छ।

‘आज तीन बजेदेखि मीनभवनको ट्यांकीमा पानी भर्न सुरु गरेका हौं,’ राईले भने ‘यो भरिन तीन/चार घन्टा लाग्ला भन्ने छ। यो भरिसकेपछि त्यहाँबाट पनि वितरण गर्न सुरु गर्छाै।’ उनका अनुसार केयूकेएलले पानी वितरणको काम गरिरहेको छ। बाँसबारी र महाराजगन्जको ट्यांकीमा पनि पानी भरेर वितरण गरिनेछ। खुमलटारको पानी चढ्न एकदुई दिन लाग्ने जस्तो भए पनि चाँडोभन्दा चाँडो उपभोक्तालाई पानी वितरण गर्नका लागि कोसिस भइरहेको उनले बताए।

उपत्यकामा पहिलोपटक आइतबारदेखि पानी वितरण गरिएको हो। पहिलो दिन४ करोड लिटर पानी वितरण गरिने केयूकेएलले जनाएको छ।

केयूकेएलको पुरानै प्रणालीबाट पानी वितरण गर्दैछ। सुरुमा विभिन्न स्थानमा रहेका रिजर्भट्यांकीमा पानी जम्मा गरि वितरण प्रक्रिया थालेको केयूकेलले जानकारी दिएको छ।