सामूहिक खेती सुरु

काठमाडौं : चक्लाबन्दी खेतीमा कृषकको आकर्षण बढ्दै गएको छ। सहकारीको अग्रसरतामा चक्लाबन्दी खेती हुन थालेपछि वरिपरीका किसान उत्साहित भएका हुन्। झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले २०७० सालदेखि गौरादह नगरपालिकाको ४ र ७

पाटागाढामा चक्लाबन्दी गरेको छ। उत्पादन बढ्दै गएपछि चाक्लाबन्दी खेतीमा कृषकको आकर्षण बढ्दै गएको हो। कृषिमा यन्त्रीकरण र व्यवसायीकरण भएसँगै हरेक वर्ष उत्पादनमा वृद्धि भइरहेको छ। चक्लाबन्दी प्रणालीबाट ठूलो परिमाणमा एकै प्रकृतिको व्यावसायिक उत्पादन गर्न सकिन्छ।संस्थाका प्रबन्धक चिरञ्जीवी भण्डारीका अनुसार ६४ जना कृषकको ८५ बिघा जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको थियो। हाल ७७ जना कृषक खेतीमा आबद्ध छन्। संस्थाले धान, मकै, गहुँलगायत मौसम अनुसारको खेती गर्छ। संस्थाले बिउ उत्पादन गर्छ। संस्थाले छिट्टै त्यस वरपरका जग्गा समेटेर १ सय २५ बिघामा चक्लाबन्दी गर्ने योजना बनाएको छ। परियोजना सञ्चालन गर्नका लागि उक्त जग्गामा १० वटा स्यालोट्युवेल जडान गरिएको छ। धान काट्ने मेसिन रिपर खरिद गरी संस्थाले खेती गर्दै आएको छ।

पछिल्लो समय नेपालमा खेती गर्न सक्ने युवा शक्ति बिदेसिएका छन्। जमिन पनि बाँझो हुन थालेको छ। कृषिमा प्रशस्त सम्भावना भए पनि आकर्षण हुन नसक्दा कृषक पलायन भइरहेका बेला कृषिमा कृषकको आकर्षण बढाउन चक्लाबन्दी सुरु गरिएको संस्थाका प्रबन्धक भण्डारीले बताए । मल, बीउ, ज्याला, कृषि औजार, रोग, किरा, प्राविधिक सेवा महँगो हुँदा कृषकको उत्पादन लागत बढ्न गई घाटा खाइरहेका छन्। तर, यसरी चक्लाबन्दी गर्दा उत्पादनमा वृद्वि हुनुका साथै कृषक उत्साहित भइरहेको चक्लाबन्दी खेती समितिका व्यवस्थापक अर्जुन खतिवडाले बताए। उनका अनुसार सिजनमा २ सय कामदारले खेतीमा काम गर्छन्। जग्गाधनी तथा उसका परिवारलाई काममा पहिलो प्राथमिकता दिइन्छ। चक्लाबन्दीमा ८ जना नियमित र मौसमअनुसार डेढ सयदेखि दुई सयसम्म कामदारले काम गर्ने गरेको खतिवडाले बताए।

फाइदा भए ४० प्रतिशत उत्पादनको हिस्सा जग्गाधनीलाई नै जान्छ। संस्थाले धान, मकै, गहुँको हाइब्रिड बिउ उत्पादन गर्छ। उत्पादनमा कृषकको पूर्ण जिम्मेवारी हुन्छ। उत्पादित बिउ झापालगायत विविध स्थानमा बिक्री हुन्छ। कृषकले एक बिघा जग्गाको वार्षिक ३४ मन प्राप्त गर्छन्। यो हरेक हरेक वर्ष थपिँदै जान्छ।ज्यालादारी श्रमिकले प्रतिघण्टाको ५५ रुपैयाँदेखि ७५ रुपैयाँ पाउँछन्। संस्थाले लगानी अनुसारको पुँजीगत सेयरको हिस्सा पाउँछ। उत्पादनमा कृषकलाई नै आकर्षित गर्न संस्थाले हस्तक्षेप नगरेको कार्यकारी प्रमुख भण्डारी बताउँछन्।

उत्पादनका साधनमध्ये श्रम र जमिन बाहेकका साधनको व्यवस्थापन संस्थाले गर्छ। गोदाम, बजार, सिँचाइ, कृषि सडक, कृषि औजार, प्राविधिक जनशक्तिलगायतय पूर्वाधारको व्यवस्थापनमा संस्थाले सहजीकरण गर्छ। संस्थाले थप १ सय बिघामा सहकारी खेती पनि सञ्चालन गरेको छ। चक्लाबन्दी खेतीले ओगटेको क्षेत्रमा उत्पादन हुने बस्तुको प्रसोधनका उद्योग स्थापना गर्ने संस्थाले योजना बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *